दुबई -यूएई, कार्तिक ९ -
संयुक्त अरब इमिरेट्स (यूएई) को एक स्वायत्त प्रान्त (इमिरेट) दुबईस्थित संसारकै अग्लो टावर 'बुर्ज खलिफा' निर्माणमा नेपालीले पनि विशेष योगदान पुर्याएको भेटिएको छ । विशेष योगदान पुर्याउने व्यक्तिहरूको फोटो राखिएको लहरमा दुई नेपालीको पनि फोटो राखिएको छ ।
१ सय ६० तलाको ८ सय २८ मिटर अग्लो बुर्ज खलिफा संसारकै मानव निर्मित अग्लो टावर हो । करिब साढे ५ वर्ष लगाएर तयार गरिएको यो टावर गत वर्षदेखि सबैका लागि खुला छ । ०६१ असोज ५
(२१ सेप्टेम्बर २००४) मा सुरु भएको टावरको उद्घाटन २०६६ पुस २० -४ जनवरी २०१०) मा भएको थियो ।
टावर अवलोकन गरेर लिफ्टबाट झरेपछि बाहिर निस्कनुअघिको पहिलो तलामा विशेष योगदान दिने १४ महिलासहित ९० जनाको फोटो छ । देश नछुट्टयाई अंग्रेजी र अरबिक भाषामा नाम थर, पेसा र कम्पनीको नाम लेखेर राखिएका ती फोटामध्ये २ नेपालीको भएको यहाँ कार्यरतहरूको भनाइ छ । विशेष योगदानमा दिनेको फोटो लहरमा मजदुरदेखि इन्जिनियर, आयोजना -प्रोजेक्ट) प्रमुख कार्यकारी अधिकृत -सीईयो), अध्यक्षसम्म छन् ।
६ वटा ठूला पेममा राखिएका ब्ल्याक एन्ड ह्वाइट रंगका फोटामध्ये पहिलो पेममा झमकबहादुर श्रेस्मा र पाँचांै पेममा लक्ष्मण श्रेष्ठको फोटो छ । २० जनाको फोटो भएको पेममा श्रेस्माको फोटोमुनि सुरक्षा निरीक्षक, सामसुङ, बेसिक्स, अरबटेक जेभी मेन कन्ट्राक्टर लेखिएको छ ।
त्यस्तै १४ जनाको फोटो भएको पेममा श्रेष्ठको फोटो माथि इएलभी टेक्नसियन, जोनसन कन्ट्रोल्स इन्टरनेसनल एलएलसी, इलभी कन्ट्राक्टर उल्लेख छ ।
यी दुवै नेपाली दुबईबाट गत वर्ष नै नेपाल फर्किसकेको जनाउँदै यहाँ कार्यरतहरूले दिएको नम्बरमा फोन गर्दा श्रेष्ठ नेपालमा भेटिए । काठमाडौं भैंसेपाटी निवासी २४ वषर्ीय श्रेष्ठ ३ वर्ष काम गरेर चार महिनाअघि नेपाल फर्किसकेको जनाउँदै बुर्ज खलिफामा आफ्नो फोटो राखिएकामा खुसी व्यक्त गरे ।
'बुर्ज खलिफामा काम गर्ने एउटा कम्पनीको एक जनाको फोटो राख्ने कुरा हुँदा हाम्रो सप्लाई कम्पनी भए पनि म छनोट भएको हुँ,' श्रेष्ठले कान्तिपुरलाई भने, 'सप्लाई कम्पनीले सुविधा गतिलो नदिए पनि संसारको अग्लो टावरमा फोटो भएकामा म खुसी छु ।'
उनले बुर्ज खलिफामा सीसीटीभी, सेक्युरिटी नेटवर्क, पार्किङ सेन्सर, ताररहित नेटवर्कको काम गरेको सुनाए । 'नेपालमा इलेक्टि्रसियन काम गरेको अनुभवले खलिफामा मलाई ठूलो सहयोग भयो,' कामले गर्दा प्लस टु पूरा गर्न नसकेको बताउँदै उनले भने, 'मैले खलिफामा हेल्परदेखि ल्यापटपसम्म चलाएर काम गरेको थिएँ, कामको सम्मान भयो, यही नै खुसी हो ।'
उनले अर्को फोटो टाँसिने झमकसँग खलिफामै काम गर्दा चिनजान भए पनि थर, ठेगानाबारे थाहा नभएको बताए । खलिफामा काम गर्ने अन्यले झमकको घर पूर्वी नेपाल भएको जनाउँदै उनी यूएईबाट स्वदेश गएर फेरि रोजगारीका लागि अन्यत्र गएको हुन सक्ने अनुमान गरे ।
'हाम्रो छुट्टाछुट्टै कम्पनी हो, देखभेट, कुराकानी त हुन्थ्यो तर अहिले कहाँ के गर्नुहुन्छ थाहा पाएको छैन,' श्रेष्ठले भने । श्रेष्ठले सम्मानस्वरूप खलिफाले अरू केही नदिए पनि तस्बिर राखेर चिनाउने काम गरेकामा खुसी व्यक्त गरे ।
खलिफामा सीसीटीभी टेक्निसियनको काम गरेर घर फर्किसकेका महेन्द्रनगर, कञ्चनपुरका हरिष ठकुरीले संसारको अग्लो टावरमा नेपालीको फोटो रहेकामा आफू हषिर्त भएको सुनाए । खलिफामै २ वर्षदेखि कार्यरत बुटवलका कविराज थारूलाई पनि यो खुसी उत्तिकै छ । 'विदेशीमात्र होइन नेपाली आएर पनि नेपाली खुसी हुँदा हामीलाई खुब गौरव हुन्छ,' झमकको फोटो देखाउँदै उनले कान्तिपुरलाई भने ।
नेपालीको नाम राखेकामा एनआरएन, यूएईले कार्यरत रहेकै बेला श्रेष्ठलाई सम्मानसमेत गरेको थियो । 'हामीले झमकलाई भेट्न सकेनौं, लक्ष्मणलाई भेटेर देशको नाम राख्न सफल भएकामा कार्यक्रम गरेर सम्मान गर्यौं,' एनआरएन यूएईका अध्यक्ष चन्द्र रोकाहाले कान्तिपुरसँग भने, 'विश्वका मानिसको हेर्न संसारकै अग्लो टावरमा नेपालीको तस्बिर हुनु हाम्रा लागि गर्वको कुरा भएकाले उहाँहरू सम्मानका पात्र हुनुहुन्छ ।'
खलिफामै प्यानल बोर्डसम्बन्धी काममा कार्यरत हेम्जा-८, कास्कीका सनत रानाभाटले टावर निर्माणका असंख्य नेपालीहरूले काम गरेको आफूले देखेको बताए । 'मजदुरदेखि इन्जिनियरसम्मका नेपाली खटिएका थिए,' उनले भने, 'निर्माण भएपछि पनि अहिले टावरमा नेपालीले विभिन्न काम गरिरहेका छन् ।'
बुर्ज खलिफाको श्रव्यदृश्य स्त्रिmनमा अवलोकनकर्ताहरूलाई दिइएको जानकारीअनुसार खलिफा निर्माणमा १ सय देशका आप्रवासी कामदार दिनरात जुटेका थिए । निर्माणको व्यस्त समयमा दैनिक १२ हजार कामदार कार्यरत खलिफाले उल्लेख गरेको छ । यिनै असंख्य कामदारमध्ये विशेष काम गर्ने विभिन्न पेसाका ९० कामदारको फोटोलाई खलिफाले सम्मानस्वरूप टाँगेको हो ।
फोटो टाँगिएको अग्रभागको एउटा पेममा 'पिपुल बिहाइन्ड बुर्ज खलिफा' शीर्षकमा अंग्रेजी र अरबिक भाषामा कठिन कार्य र विशेष दक्षताले अविस्मरणीय प्रतीक बनेको उल्लेख गर्दै यहाँ तिनै हजारौंमध्येका केही व्यक्तिमात्र भएको लेखिएको छ ।
No comments:
Post a Comment